मिति २०७६/१०/२४ गते गोकर्णेश्वर नगरपालिका, शिक्षा शाखाद्वारा अरुणोदय मा.वि. आरूबारीमा सबै सामुदायिक विद्यालयका ७५ जना स्थानीय पाठ्यपुस्तक अध्यापन गर्ने शिक्षकहरूलाई शिक्षा शाखाका टेकेन्द्र ढकालको स्वागत मन्तव्यपश्चात प्रवोधीकरण कार्यक्रम शुरू गरिएको थियो । कार्यक्रमको उद्देश्य, महत्व र उपादेयताबारे प्रकाश पार्दै निकट भविष्यमा सबै संस्थागत विद्यालयहरूका स्थानीय पाठ्यपुस्तक, पाठ्यक्रम, पाठ्यपुस्तक अध्यापन गर्ने शिक्षकहरूसमेतका लागि यो कार्यक्रम आयोजना गरिने उपसचिब विजयप्रसाद आचार्यले स्पष्ट पार्नुभयो । स्थानीय पाठ्यपुस्तकका लेखकत्रय कृष्णप्रसाद नेपाल, रामनारायण शाह र दिवाकर भण्डारीले सो कार्यक्रममा सहजकर्ताको भूमिका गर्नु भएको थियो । अवसरमा स्थानीय पाठ्यपुस्तकको आवश्यकता, यसको प्रयोग, शिक्षण सिकाइ क्रियाकलाप, विशिष्टीकरण कार्यतालिकामा आधारित भई स्थानीय पाठ्पुस्तकको प्रश्न निर्माण, उत्तरकुञ्जिका निर्माण र शिक्षक निर्देशिकाको प्रयोगका सन्दर्भमा विषयवस्तुमाथि प्रकाश पार्ने एवं सहजीकरण गरिएको थियो । कार्यक्रमको समापन समारोहमा सहभागीमध्येबाट सुजय खरेल र रेखा अर्यालले प्रवोधीकरण कार्यक्रम अत्यन्त प्रभावकारी भएको, कतिपय अस्पष्टता हटेको, आफ्नै नगरभित्रका विभिन्न धार्मिक, साँस्कृतिक, ऐतिहासिक धरोहरबारे स्पष्ट भएको विचार व्यक्त गर्नुभएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नेपालमै पहिलोपटक यसै शैक्षिक सत्रदेखि आधारभूत तहका कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय तहका पाठ्यक्रम÷पाठ्यपुस्तक लागू गरिएकोमा तिनमा भएको कमिकमजोरी सहभागीहरूको रचनात्मक सुझावअनुसार सच्याएर प्रकाशन गरिने, सामुदायिक विद्यालय तथा शिक्षकहरूलाई आवश्यक सहयोग गर्न नगरपालिका सदैव तयार रहेको बताउदै सबै सामुदायिक विद्यालयलाई स्थानीय पाठ्यपुस्तक विशिष्टीकरण तथा शिक्षक निर्देशिका वितरण गरी कार्यक्रम समापन गर्नुभएको थियो ।
शिक्षकहरूलाई प्रवोधीकरण कार्यक्रम ।
Body: